नियम
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र पद दर्ता
(१) प्रहरी प्रधान कार्यालयले मन्त्रालयबाट स्वीकृति लिई प्रहरी सङ्गठनभित्र कुनै नयाँ कार्यालय स्थापना गर्नको लागि सङ्गठन संरचना तयार गर्दा, नयाँ दरबन्दी सिर्जना वा तत्काल कायम रहेको सङ्गठन संरचना र दरबन्दीमा हेरफेर गर्दा कार्यक्रम, कार्य बोझ, आर्थिक तथा अन्य दायित्व, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध मानवस्रोत, लागत प्रभावको विश्लेषण तथा नवीन प्रविधिको अवलम्बन गरी कारण र औचित्य समेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि देहाय वमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछः–
(क) सहसचिव, मन्त्रालय – अध्यक्ष
(ख) प्रहरी नायव महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक, अन्वेषण तथा योजना निर्देशनालय, प्रहरी प्रधान कार्यालय – सदस्य
(ग) अधिकृत प्रतिनिधि, सामान्य प्रशासन मन्त्रालय – सदस्य
(घ) अधिकृत प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(ङ) प्रहरी महानिरीक्षकले तोकेको राजपत्राङ्कित प्रहरी कर्मचारी –सदस्य सचिव
(३) उपनियम (२) बमोजिमको समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मूल्याङ्कन गरी मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई दरबन्दी सिर्जना वा खारेज गर्ने स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(४) प्रहरी प्रधान कार्यालयले यस नियम बमोजिम सङ्गठनको स्वरुप तयार गर्ने, संगठन संरचना वा दरबन्दीमा हेरफेर वा नयाँ दरबन्दी सृजना वा खारेज गर्ने स्वीकृति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दर्ताको लागि प्रहरी किताबखानामा लेखी पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम विवरण प्राप्त भएपछि प्रहरी किताबखानाले विवरण अद्यावधिक गरी सो को जानकारी सात दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयलाई पठाउनु पर्नेछ ।
(६) यो उपनियम प्रारम्भ भएपछि पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार /र प्रहरी सहायक हवल्दारको दरबन्दी कायम गर्दा यो उपनियम प्रारम्भ हुँदाका बखत कायम रहेको देहायको पदको दरबन्दीमा नबढ्ने गरी यस नियमको प्रक्रिया पूरा गरी देहायका पदको दरबन्दी कायम गरिनेछ:-
(क) प्रहरी नायब; निरीक्षक पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पद,
(ख) प्रहरी हवल्दार पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी वरिष्ठ हवल्दार र प्रहरी हवल्दार पद,
(ग) प्रहरी जवान पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी सहायक हवल्दार र प्रहरी जवान पद।